bixibit

Breaking News
recent

संस्कार


"म भोलि मेह्ले जाँदै छु नि,मैले सुनाए उसलाई ।"
"किन?? उसले सोध्नेछ मलाइ थाहा थियो ।
"भन्दिन "मैले उसलाइ घुर्काए ।
"भनेपछी boyfriend भेट्न ?"
"हो नि के" मैले फन्कदै भने ।
"भन न किन हो??"
"किन हो भने ।"
पक्कै उ रिसायो नत्र उ चुप लाग्ने मान्छे होइन ।
"ठुलबाबाको छोरिको बिहे छ के ।"
"कहिले??"
"पर्सि "
"कहिले आउने त भोलि गएर??"
"4/5 दिन बस्छु होला । धेरै भो नगाको । "
"अनि हामी नभेटेको ??"
"तिमी छुच्चो कहिले आउदैनौ । "
"तिमी दानी चाहिँ आएर हैरान फेरि ।" म हासे
"के हिहि नि?? म भोलि बस्पार्क आउ??"
"हस ।"


"6 बजे आउ ल । 6:30 मा त गाडी हिडिहाल्छ ।"
"जाबो आधा घण्टा ??"
"त्यसो भए न आउ "
"होइन के आउछु ।"
"ल फोन राख निन्द्रा लाग्यो मलाई । तिमी पढ एक महिनामा एक्जाम छ फेरि आलु आयो भने खान्छौ नि ।"
"हस बाबा good night"
"good night.. love u"
"love u tooo"
फोन राखे । पाच बजेको आलार्म लाएर म बिस्तारामा गुट्मुटिए ।उठ्दा 5:30 भैसकेछ मर्यो अब । छिटो छिटो तैयार भएं । बस्पार्क पुग्दा साढे छ भइसकेको थियो । उ बसको ढोकामा नै रैछ । अब के भन्नू उसलाई ??
मलाइ देखेर उ मै तिर आयो" किन ढिला गरेको?? भेट्न पर्छ भनेर होला । सधै यस्तै गर्ने अर्कालाइ ।" मुख ठुस्स पार्दै भन्यो ।
"निदाएछु त अनि । "
"ल राम्ररी जानू ।" भन्दै उसले मेरो निधारमा चुम्यो । रुखको छेल पारेर ।
म हास्दै गाडी तर्फ अघि बढे ।
"बिहेको फोटो पठाउ ल "
"हस" भन्दै टाउको हल्लाए ।
बसमा चढेर bye गरेपछी उ अनि म एकार्काको बिपरित दिशा तर्फ अघि बढिरहेका थियौ ।
2 जिन्दगिका रहरहरुले आकाश चुमिरहेथे । स्कुल भ्याएर म कलेज पढ्न बजार झरेकी थिए । कलेजमै भेटिएको थियो उ पनि । चिनजान भयो बोलचाल भयो अनि बोलचाल बाक्लिदै गएपछी प्रेम ।
उ ब्राह्मण, म पनि ब्राह्मण,उ उपाध्याय, म नि उपाध्याय, हामी दुबै मध्यम बर्गको घरबाट । यी सबै कुरा मिलेकाले नै मैले सम्बन्ध अघि बढाउने निर्णय लिएकी हुं ।
थाहा छैन अब जिन्दगिमा के हुनु छ?? यस्तो लाग्छ कि म उ बिना एक पल पनि बाच्न सक्दिन । हो मैले उ बिना भबिस्यको कल्पना पनि गर्न छोडेकी छु । उ भन्छ राम्ररी पढ आफ्नो खुट्टामा उभिने भएपछी पछि सजिलो हुन्छ


। त्यसैले त म मन लगाएर पढ्छु मेरो प्रेरणाको स्रोत उ छ ।
थाहा छैन समय नामको भेलले जिन्दगी नामक नदिलाइ कहाँ पुर्याउने हो । एकदिन उसले कुरैकुरामा भनेको थियो बाले नदिए के त भगाउछु । मैले कति जिद्दी गरेकी थिए भाग्दिन भनेर । जिद्दी गर्दा गर्दै म रोएकी थिए उसले त्यति बेला नै लैजान आटे झैं ।
यो खल्ट्याङ खल्ट्याङ गाडी कुन जुनिमा घर पुर्याउने हो । आन्द्राभुडी निस्केला जस्तो भइसक्यो सोचे मन मनै । कहिलेकाही त लाग्छ घरै नगइदिउ यो यात्रा देखि वाक्क लागेर । मन भइ भइ पनि गइदिन्न कहिले त । मर्नु भन्दा बौलाउनु बेस झै लाग्छ ।
भोकले पेट क्याउ क्याउ गर्न लाग्यो कति खेर रोक्ने हो खाजा खान?? खोइ रोक्नी बेला सम्म आन्द्राभुडी हातमा होला के खाजा खानु सोच्दै हासे एक्लै ।
घरबाट फोन आयो । मेकअपको सब सामान किनेर लिएर आइजा के भनेका थिए । दिमाग खान्छ्न । अब नि के भन्ने हुन । "झोलामा त हालिस नि" आमाले भन्नु भो ।" होइन छोडे उतै पसलमा" रिसाएर जबाब दिए । "म त केहि बोल्नै हुन्न यिनिहरुका सन्तानलाइ" (यिनिहरुका मतलब बाबाका) "ल ल राख्दिनु यसै पेट क्याउ क्याउ गर्या छ अव तपाईं कानां झाउ झाउ नगर्नु"
अब फेरि सुरु भो महाभारत "खाजा बनाएर किन नराखेको कि पसलको केही हाले भए हुन्थ्यो ।" ढिलो उठे भने भने फेरि चण्डिको पाठ सुरु होला भन्ने डर । चुपचाप सुने अनि ल ल भन्दै राखिदिए । खाजा खाने ठाउ आएछ । ए आन्द्रा त पेटैमा रैछ सम्झिए । हास्दै ओर्लिए ।
खाजा खाएर गाडिमा चढेपछी फेरि उहीँ खल्ट्याङ खल्ट्याङ सुरु भो । बल्ल बल्ल ठुलाबाको घर आइपुग्यो । कति मान्छे हुन? नमस्ते गर्दा गर्दै फेरि लोत परे अनि बिस्तारामा पल्टिए ।
आमा आउनुभयो बुढि त आउने बित्तिकै मेरो खबर सोध्लिन भनेको त सामान ल्याइस पो भन्छीन बा । लौ तिम्रो सामान भन्दै सामान दिए । अनि बिस्तारामा घोप्टिए । थकाइले चुर भएकि थिए निदाएछु ।
ठुलिआमाले खाजा खान बोलाउदा बल्ल निन्द्रा खुल्यो । आमाले बोलाको भए घुर्क्याउदै सुत्थे ठुलिआमाले उठाको भएर जुरुक्कै उठे । अनि एउटा डाइलग नि खाए बाबा बोलाउनी बित्तिकै उठ्नी जागरिली भैछेस त?? अल्छि भएनी सुख छैन जागरिलो भए नि सुख छैन अत्ति गर्ने गर्न नि । मनमनै भन्दै धारातिर लागे ।
खाजा खाएर बिहेको काम गर्न तिर लागियो । भोलि बिहे थियो यसै कामको चाप बढी थियो । यताउता गर्न लागेपछि सास फेर्ने फुर्सत पनि पाउन छोडे । साच्ची भन्ने हो भने बिहेमा यति बिजि भए कि दुलही संग नै बसेर कुरा गर्न पाइन । सन्चै छस ?? अं छु । हजुर?? म नि चितवन आउदा घुमाइदिनु है भन्दा भएको उनको अमिलो मुख बस यत्ती थियो उनको बिहे अघिको हाम्रो बार्तालाप ।
जन्ती चितवनबाट आउदै थिए । राती बाग्लुङ बजार आइपुगेको खबर सम्म आयो। बिहेको दिन पनि उस्तै ताना माना रह्यो । काम भन मेकअप भन । बिहे भयो दिदिको बिदाइ भयो । आमा रोइन ,ठुलिआमा मुर्छा परिन, अन्टि सुक्क दुक्क गर्दै थिइन,बाहरुले रोउला झै मुख बनाए मेरा आंखाबाट पनि आँसु बगे ।
बेलुका उ संग कुरा गरें । फोटो पठाइदिए । उसले सोध्यो कति जना पट्टिए मैले जबाबमा फोन काटिदिए अनि उठाउदै उठाइदि।
म मेह्ले आएको 5 दिन भैसकेको थियो । पढाइ छुटिरहेथ्यो । जान्छु भन्दा ठुलबाले दिदी दुरानी फर्काउन आउदा संगै जालिस भन्नू भयो अनि के बोल्नु ?
आज दिदिहरु आउदै थिए । राती सम्म आइपुग्लान यहि सोचिरहेथे म । खाना खान लाग्दा बाबाले मेरो बिहेको कुरा निकाल्नु भो । खाना नै घाटिमा गएर अड्कियो ।
पढ्दै छु त अहिले ?? बल्ल तल्ल बोले ।
हो त नि पढिराकी त छे नि । अनि उमेर नि के भएको छ र?? आमा डराइ डराइ बोल्नु भयो ।
पुग्यो पढाई सढाइ उमेर गएपछी केटा आउन्नन माग्न आका बेला पठाइदी हाल्ने हो । बाबाले भन्नू भयो ।
पिर नअर सितालाइ(दिदी) जस्तै राम्रो घराट माग्न आए कुरा अघि बढाम्ला । ठुलाबाले भन्नुभयो ।
अनि बाबा चुप लाग्नुभयो । अब खानाका गाँस हरु घाटिमै अड्किए झै लाग्यो । उठेर बाहिर निस्किए ताउलोमा सबै खनाइदिए । कोठामा आएर रोए ।
हिजो फोन काटेपछी एक कल पनि गरेको छैन ।नगरुस म नि उ बिना मर्ने हो र?? यहि सोचे फेरि सोचे केही भयो कि?? अनि फोन हाने । उसले हेलो भन्ने बित्तिकै रुन आयो । बिचरा उ एकोहोरो सरि भन्दै थियो । मैले घर बिहेको कुरा भएको बताए । उ एकछिन बोलेन चिन्ता नगर भन्यो मलाई आफुलाइ चाहिँ कति चिन्ता पर्यो होला ।
दिदिहरु आउने भनेर होला घरमा अनेक परिकार पाक्दै थियो । मैले पनि आमाहरुलाइ सघाए । दिदिहरु आए । दिदी कति राम्री देख्खेकी हुन । रातो साडि, तिलहरी,सिन्दुर अनि ओठमा मुस्कान । भिनाजु पनि कम ह्यान्ड्सम होइनन ।
दिदिहरुको साथ लागेर अंकल आन्टी कहाँ सबै तिर घुमे । भिनाजु कति मजाका हुन सोचे बिकसित ठाउका मान्छेको सोच नै बिकसित ।
खाना खान सबै जम्मा भए ठुलबा कहाँ । खाना खाएर गंगा ( दिदिको साथी) भेट्न जान्छु भन्दै दिदि जानुभयो । म साथमा आउछु भन्दा पनि मान्नु भएन । म चाहिँ भिनाजु संग गफ गर्दै बसें।
रातको 11 बजिसक्दा पनि दिदी आइन । फोन गर्दा पनि उसले फोन घरै छोडेर गइछ । कति गफ गरेको हो?? ठुलिआमा रिसाउनु भयो । जा त लिएर आइजा । ठुलिआमाले मलाइ अह्राउनु भयो । भिनाजु बाबाहरु संग गफ गर्दै हुनुहुन्थ्यो
म कुद्दै गंगा दिदिको घरतिर लागें । सबै भात खाइवरी सुतिसकेका रहेछन क्या रे । चकमन्नै अँध्यारो थियो । ढोका ढकढकाए गंगा दिदी गंगा दिदि
हजुर भन्दै दिदिले ढोका खोलिन ।
सीता दिदी खोइ त?? मैले सोधे ।
उनले उधो मुन्टो लाउदै एउटा कपडाको पोको मलाइ दिदै भनिन घर गएर दे भन्दै थिइ सकिन ।
म रनभुल्लमा परे के थियो तेस्तो त्यो कपडाको पोकोमा??
खोले त्यहां त थियो सिता दिदिको गहना । साथमा एउटा चिठी थियो । लेखिएको थियो
आदरणीय बाबा आमा
माफी माग्दैछु
म रबि संग टाढा जादैछु सधैको लागि । हजुरको संस्कारले हामिलाइ एक हुन दिएन हाम्रो मनले छुट्टिन दिएन । संस्कार र मनमा मैले मनलाइ चुने । यदि कसैको खुशी लुटिदिन्छ भने त्यस्तो संस्कार बदल्नु नै ठिक हुने माने मैले । सक्नुहुन्छ भने माफ गर्दिनु होला । अनि फेरि संस्कारको नाममा अर्को छोरिको बलि नचढाइदिनु होला ।
सिता
पढिसक्दा हात गोडा थरथर काम्न लागे, चिट्चिट पसिना आयो । थचक्कै भुइमा बसे । गंगा दिदिले पानी दिइन । एक घुट्किमै गिलासको पानी रित्तियो ।
सिताको र रबिको प्रेम सम्बन्ध थियो । थाहा पाएरै चितवनको केटासँग बिहे गर्देका हुन जबर्जस्ति । गंगा दिदी बोलिन । म कसरी सकुं त्यो पोको लिएर जान??
फोन आयो । सपनाबाट झस्किएर ब्युझिए जस्तै लाग्यो । दाइ बोल्दै थिए कहाँ हराइस??
यहि छु आए ।
सीता खोइ ?? सितालाइ फोन दे त??
म के बोलु के नबोलु भए ?? दिदी हुनुहुन्न ।
छैने रे कहाँ गइ त??
म बोल्न सकिन फोन काटिदिए ।
पोको बोकेर खुरुरु दकुरे । बाटोमा दाइ भेटिए खोइ सीता?? मैले उनको हातमा त्यो कपडाको पोको थमाइदिए ।
पोको खोलेर चिठी खोलेपछी उनी रिसले आगो भए । रिसको झोकमा गंगा दिदिको घर गएर एक थप्पड दिदिलाइ हाने । कहाँ गए??
थाछैन दिदिले रुदै भनिन ।
मलाइ हातमा समातेर दाइले तानेर घर लगे । ती गहनाको पोको खाटमा फालेर भने गइ त्यो रबि संग । हे राम भन्दै ठुलिआमा रुन थाल्नु भयो ।
ठुलबा चुपचाप खाटमा बसे मौन ।
गितालाइ बिहे गरिदिन्छु भन्नुहुन्छ ठुलिआमा हुन्छ मान्छेस तं?? खुशी होलिस नि है ?? आन्टिले भन्नुभयो ।
नाइ कसरी आट गरे यो दुई शब्द मुखबाट फुत्काए मैलाइ थाहा छैन । आन्टि उठेर जानुभयो कोठाबाट ।
ढोकाबाट चिहाएर हेरें । दाइले भन्नुभयो म भन्छु उनलाइ मेरो बहिनी गइ पोइला म परौला उसको पाउमा ।
कसरी भनु?? कुन मुखले भनु?? पैसा कमाउन नसके पनि इज्जत कमाएको थिंए । अलच्छिनिले त्यो पनि छोडिन। ठुलाबाले भन्नुभयो ।
म कसरी हुन्छ भन्न सक्छु?? म कसरी उसलाइ धोका दिन सक्छु?? अनि मेरो परिवार?? ठुलबा ठुलिआमा?? म आफ्नो परिवारलाइ बेइज्जत हुन दिन सक्छु?सोचिरहदा मलाइ सोच्नै मन भएन तर पनि म सोच्न बाध्य थिए ।
मोबाइलमा म्यासेज आयो कहाँ हो तिमी??
के गर्दै हो?? निदाइसकेको हो?? आफ्नो घरमा भएपछी हाम्लाइ बिर्सिने हो ?? कल नगर भन्ने आफू पनि नगर्ने ?? कि छोडेर भाग्ने प्लान हो अर्कै संग??
म्यासेजले मलाइ स्तब्ध बनायो । रिप्लाइ के गरौ म?? कि म कस्तो पतिस्तिथिमा छु भनेर । मैले के भोग्दैछु भनेर । अब एकछिनमा म संग के हुनेछ मलाइ नै थाहा छैन भनेर?? के भनेर रिप्लाइ गरु म?? फोन आयो उठाइन ।
ठुलबा कोठामा आउनु भयो । खुट्टा तल झारेर बसिरहेकी थिए । टोपी फुकाल्नु भयो । अनि मेरो खुट्टामा राख्दिनु भयो । के गर्नुभएको ?? भन्दै मैले खुट्टा माथी ताने ।
आँसु बरर झरे आखांबाट ठुलाबाको संगसंगै मेरो पनि ।
मेरो इज्जत तेरो पाउमा छ । छोरी तेरै भर छ । म के भनेर रित्तै फर्काइदिउ ज्वाइलाइ छोरी बिना?? म के मुख देखाएर बाच्नु?? दया गर छोरी दया गर । हात जोडेर टाउको झुकाएर ठुलबाले भन्नुभयो आखाबाट आँसु धारा बगिरहेकै थियो ।
म खाटबाट ओर्लिए । झरेको टोपी उठाए अनि ठुलाबाको शिरमा लगाइदिदै भने म तयार छु ।
ठुलाबाले फेरि मेरो खुट्टा ढोग्न झुक्नुभयो म पर्दैन भन्दै पर सरे । ठुलाबा बाहिर जानुभयो ।
मोबाइल बज्यो स्क्रीनमा उसको नाम देखाउदै थियो । उठाइन । फेरि आयो काटिदिए । सायद म ननिदाएको संकेत पाएरै होला उसले फोन गरेको गरेइ गर्न लाग्यो । सिम निकालेर भाचिदिए ।
आमा आउनुभयो । आमालाइ देख्ने वित्तिक्कै अंगालो मारेर रुन लागे । हिजो सम्म म बिहेका लागि सानी थिए आमाको लागि तर आज?? चुप चुप आमाले रुदै भन्नुभयो ।
म आमाको चित्त बुझाउनकै लागि बिस्तारामा पल्टिए । ब्लांकेट ओढे । उसलाइ सम्झे तर अब उसलाइ मैले बिर्सिनुपर्नेछ यो पनि सम्झे । सम्झे सीता दिदिको चिट्ठिमा भएका शब्दहरु "संस्कारको बलि" यी शब्द भित्र मेरो नाम लुकिरहेको झै भान भयो मलाइ ।
समाप्त

Via - Saru Kandel
Basant Giri

Basant Giri

1 comment:

  1. संस्करको बली ।।

    सिर्षक अनुरुपको लेेखाई

    ReplyDelete

Powered by Blogger.