bixibit

Breaking News
recent

प्रज्ञा - एक सफर

सदाझै आज पनि मिरमिरे उज्यालोको आगमन संगै निन्द्रा देविले साथ छोडिन। हरेक दिन उस्को मेसेजबाट सुरुवात हुने मेरो बिहानी आजभोली अर्लामको ध्वनि या त भाले बासेसंगै सुरुहुने गरेको छ, मानौ मलाई निन्द्रादेविको काख बाट हटाउन उनीहरु एकाअर्काबिच प्रतिस्पर्धा गर्छ्न र फेरि यो बेरङ्गको संसारमा आफुलाई ढाल्न बाध्य बनाउछ्न।



 उस्को आगमनसंगै विभिन्न नयाँ नयाँ सपना बुन्न र त्यो सपनाको संसारमा उडिरहने मेरो मन, उसले साथ छोडेर गएदेखि आफैमा गह्रौ महसुस गर्छ लाग्छ की यो उस्कै निम्ति धडकिने गर्थो। सायद उस्को अभावले गर्दा होला पहिलाझै फुरुङ्ग थिएन मन, जागर त झन थिएन। अहं!! पटक्कै लागेको थिएन, तर पनि जुरुक्क उठेर बाथरुम सम्म जाने हिम्मत गरे। नित्यकर्मको समापनसंगै सुरु भयो कफिको तलतल। उसंग वार्तालाप हुन छाडेको नि निकै समय बितिसकेछ तर पनि उस्ले लगाएको कफिको लत आजसम्म छुट्न सकेको छैन। हुन त उस्को यादले पनि सताउन त कहाँ छोडेको छ र?? जिन्दगीमा उस्को कमि पूरा गर्न नसके नि एक कप कफिको तलतल सहेर बस्न मनले मानेन। अलिकति जागर बटुलेर लागे किचेनतिर, ग्यासमा पानी बसाए। कानमा एयरफोर र हातमा मोबाइल लिएर टोलाइरहेको थिए अचानक मोबाइलको घण्टी बज्यो। स्क्रिनमा देखापरेको नामले एकाएक मुहारमा हासो ल्यायो मानौ त्यही नाम हेर्न आतुर थियो मन। पातलिदै गएको वार्तालाप र फुस्रीदै गएको सम्बन्धमा एक फुनकलले नया आशा जगाउदो रैच भन्ने त्यही दिन महसुस भयो। फोन उठाए, उताबाट कुनै प्रतिक्रिया आएन। छोटो समयमा एकाअर्काको यति निकट आइसकेका थियौ कि हामीलाई भावना बुझ्न् शब्दको जरुरत पर्दैन थियो, मौनताबाटै भाव बुझ्नसक्ने भैसकेका थियौ हामी। निकैबेर सम्म मौनता कायम भएपछि आफैले पहिला बोल्ने निधो गरे र सोधे, "किन मौन? केही भन्नू छ भने खुलेर भन्नू।" उताबाट मधुर स्वरमा उत्तर आयो, "घरमा बिहेको कुरा फिक्स भयो त्यही सुनाउन फोन गरेको" उहाको कुरा सक्किन नपाउदै आखामा टिलपिल भैसकेका आँसु यत्रतत्र छरिदै विलीन हुन पुगे।



पुरै शरीर चिसिए झै महसुस भयो, आफ्नो भाग्यलाई सराप्दै जोडजोड्ले चिच्याउन मन थियो तर उहाको खुसीमा मलाई बिलौना गर्दै रुन शोभा दिदैन थियो। फोनलाई अलिक टाढा राखेर सुक्क सुक्क गर्दै बस्नु बाहेक अरु कुनै विकल्प पनि थिएन। पुर्ण एक पटक मौनता छायो र यो पटक मौनता चिर्न मैले कुनै पहल गरिन। उतैबाट आवाज आयो "रामरी पढ् है, एक्जाम बिगार्ने हैन" भक्कानिएको मनलाई शान्त बनाउदै भने, "बधाई छ हजुरलाई! आजबाट सधै अगाडी मात्रै हेर्नू है, पछाडि फर्केर हेर्नुको कुनै औचित्य छैन" सायद उहापनि सुक्क सुक्क गर्दै केही बोल्न खोज्दै हुनुहुन्थ्यो। प्रस्टै थाहा हुन्थ्यो कि निकै असहजता महसुस गर्दै हुनुहुन्थ्यो त्यसैले होला उहाको बोली फुटेन। यसपटक पनि घण्टौ उहाको कुरा सुन्दै तिनै सपनाको संसारमा हराउन मन नभएको कहाँ हो र? तर म बाध्य थिए किनकि उहाँ प्रतिको ती सबै हक मैले गुमाइसकेको थिए। संवाद लम्बाउन पनि उचित लागेन, विदा माग्न पनि त्यति सजिलो कहाँ थियो र? आखिर मैले माया गरेको मान्छेसँगको अन्तिम संवाद थियो। अन्ततः निकै हिम्मत बटुलेर विदा मागे, उहाले पनि रोक्न कुनै पहल गर्नुभएन।



 सायद उहासङ्गको अन्तिम र अविस्मरणीय फोनकल थियो त्यो जस्ले मेरो सारा सपनाहरु उथलपुथल बनाइ मेरो जिवनलाई बिल्कुलै फरक दिशा तर्फ धकेलेको थियो त्यसैले मेरो मस्तिष्कमा निकै नै गहिरो छाप छोडेर गयो। घरमा आफू एकलो भएकोले जति रुदा पनि छुट थियो त्यो दिन। आँसु लुकाउने झन्झटबाट मुक्त भएको थिए, खुब रोए। बाथरुममा गएर सावर मुनि बसेर रोए, सिरानीलाई अङ्गालेर रोए, कुनामा आफैबाट लुकेर रोए, घोप्टो परेर रोए यतिसम्म रोएछु कि अब त चाहेर पनि आसु नझर्ने भैसकेछ, निकै बेरसम्म हिक्क हिक्क मात्रै गरिरहे। संसारबाट टाढिएर जोसङ्ग नजिकिन खोजेको थिए, आज उस्ले नै मलाई बिच बाटोमा अलपत्र पारेर छोडेर जाँदै थियो। निकै नै असह्य हुदो रैछ बिछोडको पीडा जसबाट म भर्खरै मात्रै परिचीत भएको थिए। शोकको भुमरीमा यति घुम्न थालेछु कि समयको होस नै भएन। अन्धकारले भरिपुर्ण कोठाबाट बाहिर चिहाउदै आकाशतर्फ नियाले जहाँ सुर्य पुनः फर्किने बाचाका साथ ती सफेद अनि सफा बादलमा आफ्नो सिन्दुरी रङ्ग मिश्रित गर्दै बिदाइ माग्ने तरखर गर्दै थियो। एकछिन बाहिरी दृश्य नियाल्नमा तल्लीन भए, सबै आ-आफ्नो दुनियामा निकै नै व्यस्त देखिन्थे। एकलोपन र रुझेको आखाका साथ बाहिर बस्न उचित लागेन, कसैले देखेर प्रश्न तेर्साए भने उनीहरु द्वारा प्रहार गरिएका प्रश्नको प्रतिकार गर्न सक्ने सामर्थ्य थिएन म सङ्ग त्यसैले लागे किचन तर्फ रातीको निम्ति खाना बनाउन तर वास्तवमा न त खाना खान मन थियो न त बनाउन। यो माया भन्ने चिज पनि बडो गजबको हुदोरैछ।




जब नया र मौलाउने तरखरमा हुन्छ तब उत्सुकता बढेर भोक र निन्द्राको ख्याल नहुदो रैछ तर जब ओइलाएर जानेबेला हुन्छ तब आफूसङ्गै निन्द्रा, भोक, खुसी सबै लिएर जादो रैछ। अब चाहिँ पेटबाट अनेकौं अनौठो आवाज आउन थालिसकेको थियो, नआओस् पनि कसरी बिहान देखि आफू रित्तिएको भएता पनि भोक सङ्ग जुधेर मलाई उर्जा प्रदान गरिएको थियो। पुनः एकपटक कफिको सहारा लिने अठोट गरे। किचनबाट एक कप कफी र केही कुकिज लिएर छठमा गए। साझको बेला छठमा गएर चिसो हावाको वेगसङ्ग गफिदै कफिको सर्को लिनुको मजानै बेग्लै हुन्छ त्यसैले त हरेक दिन सुर्यको बिदाइ गरे पश्चात् बाकिको समय त्यहा गएर व्यतीत गर्नु मेरो लागि नित्यकर्म बराबर नै भैसकेको थियो। तर आज सदा झै सामान्य माहोल थिएन, नया नया तरङ्ग र तर्कले मन मस्तिष्कमा कब्जा गरेका थिए। एकाएक तिनै प्रसङ्ग सङ्ग सम्बन्धित प्रश्नहरुले जन्म लिन थाले जस्ले आजको मेरो दैनिकीमा अस्थिरता छाएको थियो। सोच्न बाध्य भए, आखिर हाम्रो बिछोडको ठोस कारण के हो त?



के साचो माया गर्नु नै हाम्रो गल्ती थियो या त हाम्रो प्रेम गलत थियो? अवस्य पनि थिएन किनकी यहाँ समय र परिस्थिति गलत हुन सक्छन्, पात्र धोखेबाज हुन सक्छन् तर साचो प्रेम कहिले गलत हुन सक्दैन। आखिर गलत को त? हुनत म यस्तो समाजको पात्र हु जहाँ मायामा निश्चल मनको कुनै अस्तित्व हुदैन बरु रुप, रङ्ग, जात, धर्म अनि वर्ग लाई प्राथमिकता दिनुपर्छ भन्ने धारणा कायम छ। त्यसैले सुरुको पन्ना भरिन साथ बाकी पाना खाली र अपुरो हुँदै मेरो प्रेम कहानीमा पुर्ण विराम लाग्नु कुनै नौलो कुरा होइन रहेछ भन्ने आभास भयो। हाम्रो सम्बन्ध पनि त्यही जातिय विभेदको दलदलमा फसेको थियो जस्लाई निकाल्न म एक्लै लागिपरेको थिए। सायद उस्ले पनि मसङ्गै अलिकति हिम्मत देखाएको भए आज यो दिन देख्न पर्दैन थियो कि भन्ने शंका सधै मनमा रहने वाला थियो। उ समाजलाई दोषी मानिरह्यो अनि म उस्लाई।



आखिर कस्ले दियो समाजलाई यस्तो नियम बनाउने अधिकार? अनि किन हामी भेडातन्त्रको उदाहरण दिदै तिनै नियमलाई निजी जिवनमा लागू गरिरहेका छौ? आखिर कहिलेसम्म यसरी नै निर्दोष प्रेमको हत्या गरिने छ? २१ औ शताब्दीमा आइपुग्दा पनि मानिसबिच यति सानो सानो कुरामा विभेद किन र कहिले सम्म? हाम्रो सम्बन्ध अवस्य पनि मरेको हैन, निर्मम हत्या गरिएको हो यस्तै चालचलन भित्राएर। अफ्सोस् मैले कुनै पहल गर्न सकिन न त सम्बन्ध बचाउनका निम्ति न त भत्किसकेको सम्बन्धलाई न्याय दिलाउनका लागि।  यिनै प्रसङ्ग र यस्तै प्रश्नहरुले छाती पोल्न थालिसकेको थियो जस्को उत्तर सायदै कसैले दिन सक्थ्यो। मन सान्त पार्न निकै कोसिस गरे तर हरेक प्रयास असफल भए। जब कफिको कपले ओठको स्पर्श गर्यो तब थाहा भयो कप अघिकै प्यालामा रित्तिसकेको रहेछ। रात झन् ढल्न थाल्यो अनि सङ्गै बढ्न थाल्यो चिसो हावाको चोटिलो प्रहार। जाडोसङ्ग लड्ने क्षमता सकिए झै भान भयो। चिसोमा बसिराख्न पनि मनले मानेन, रुममा फर्किए। सपनामा नै भए पनि ति उत्तरहिन प्रश्नको केही जवाफ पाउने झिनो आसमा अलि उच्च भोलियमका साथ अरिजित सिङ र नारायण गोपालका सेन्टिमेन्टल गित क्रमिक रुपमा बजाएर खाटमा पल्टिए। निकै बेरको प्रयास पश्चात् खै कति बेला तिनै निन्द्रादेवीको काखमा आफुलाई समर्पित गरेछु पत्तै भएन तर मेरा मनमा उब्जेका अनगिन्ती प्रश्नहरु अझै पनि उत्तरहिन रहेर ओझेलमा परिरहेका छन्।



admin

admin

No comments:

Post a Comment

Powered by Blogger.